काठमाडौं— हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रफाह नजिकैको शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ। मृत्यु हुनेमा महिला र बालबालिका छन्।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्षित गरी हवाई हमला गरेको पुष्टि गरेको छ। उसले घटनाको समीक्षा भइरहेको बताएको छ।
अघिल्लो दिन हमासले रफाहबाट तेल अवीवतर्फ आठवटा रकेट प्रहार गरेको थियो। दक्षिणी गाजा पट्टीबाट प्राप्त भिडिओहरूले ठुलो विस्फोट र भीषण आगो जलिरहेको देखाउँछ।
हमासले इजरायली हवाई हमलाले विस्थापित प्यालेस्टाइनहरूको लागि रफाहको उत्तरपश्चिममा रहेको शिविर, सैन्य कारबाहीबाट टाढा एक निर्दिष्ट मानवीय सुरक्षित क्षेत्रमा आक्रमण गरेको बताएको छ।
संयुक्त राष्ट्रसंघले आक्रमण सुरु भएदेखि नै रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टिनीहरू भागेको जनाएको छ। गाजाको अन्यत्र लडाइँबाट करिब १५ लाखले त्यहाँ आश्रय लिएका थिए।
हमासको नेतृत्वमा बन्दुकधारीहरूले अक्टोबर ७ मा इजरायलमा हमला गरेपछि गाजामा इजरायलको सैन्य अभियान सुरु गरेको थियो। जसमा करिब १ हजार २ सय व्यक्तिको मृत्यु भयो भने २ सय ५२ जनालाई गाजामा बन्धक बनाएर लगिएको थियो।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता इजरायली सैन्य कारबाहीमा करिब ३६ हजार प्यालेस्टाइनी मारिएका छन्।