
काठमाडौं—नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै विभिन्न प्रकरणमा मुछिएकाले एकअर्कालाई बचाउँदै हिँडेको आरोप लगाएका छन् ।
कांग्रेसले आइतबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई जोगाएर ओली बोल्ने र लामिछानेले एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा जोगाउने गठबन्धन गरेको उनले बताए ।
उनले भने, ‘भ्रष्टाचारका प्रकरणहरू ढाकछोप गर्नका लागि सङ्गठित अपराधजस्तो प्रवृत्ति प्रस्तुत हुन थाल्यो । पूर्व प्रधानमन्त्री कमरेड केपी ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएर नै बोल्ने मनोविज्ञानमा देखिनु भएको देशका सामु प्रमाणका रुपमा छ । ओलीको त्यो भूमिका छ भने गृहमन्त्रीको भूमिका एमाले अध्यक्षलाई गिरीबन्धुको प्रकरणमा जोगाउनको लागि साथ दिने । यो गठबन्धनको नयाँ नामकरण गरेका छौं– यो सहकारीबन्धु गठबन्धन हो ।’
सभालाई सम्बोधनका क्रममा उनले प्रतिनिधि सभाका सभामुखको भूमिका पदको गरिमा अनुरूपको हुन नसकेको पनि बताए । गृहमन्त्री लामिछानेलाई बोलेपछि सभामुख देवराज घिमिरेले संसद्मा प्रतिपक्षी दलका सांसदलाई बोल्न दिएका थिएनन्, प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत लिँदा पनि उनको भूमिका सत्तापक्षीय देखिएको थियो ।
महामन्त्री शर्माले भने, ‘प्रतिनिधि सभाका सभामुखको भूमिका पदको गरिमा अनुरूपको हुन सकेन । सभामुखले प्रधानमन्त्रीलाई भन्नुपर्ने थियो कि तपाईँले विश्वासको मत लिने अधिकारको रक्षा गर्दछु, तर प्रतिपक्षले संसद्मा आफ्नो विमति राखिरहेको समयमा विश्वासको मतको गणना गर्न मिल्दैन । तर, सभामुखले यो भन्न सक्ने क्षमता राख्न सक्नु भएन ।’
साना दलहरूलाई विभाजन गर्ने षड्यन्त्रमा स्वयं प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री सामेल भएको भन्दै सरकारको यस्तो क्रियाकलापको विपक्षमा कांग्रेस सडकमा उभिएको पनि उनको भनाइ छ ।