News Griha :: न्यूजगृह
एक किलो भन्दा बढी कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ 

काठमाडौं— अवैध लागुऔषध कोकिनसहित विदेशी महिला ठमेलबाट पक्राउ परेकी छिन्। 

शुक्रबार दिउँसो लागुऔषध ब्यूरोबाट खटिएको टोलीले १ किलो १०१ ग्राम कोकिनसहित कंगोकी ३९ वर्षीया अपुला एकुत्सु मबोंगोलाई पक्राउ गरेको हो। 

उनी गत जेठ ४ गते दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओलिएकी थिइन्। 

विमानस्थलबाट सिधै ठमेल पुगेकी उनको गतिविधि संकास्पद रहेको पूर्वसूचनाका आधारमा ब्यूरोको टोलीले उनी बसेको होटल निगरानीमा राखेको थियो। ब्यूरोका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार सोहीदिनबाटै उनीमाथि निगरानी राखिएको र कोकिन भन्ने एकिन भएपछि उनलाई पक्राउ गरी कोकिन बरामद गरिएको हो।  

प्रहरीले उनको ह्याण्ड ब्यागभित्र प्लाष्टिकले बेरेको अवस्थामा ८५ थान कोकिनका क्याप्सुल बरामद गरिएको थियो। 

बरामद गरिएको उक्त कोकिनको बजार मूल्य ३ करोड ८५ लाख रहेको प्रहरीले जनाएको छ। उनीविरुद्ध लागु औषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:१९
Weather Update