News Griha :: न्यूजगृह
भेरीगंगाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं— सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेलसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

पौडेलसहितको मिलेमतोमा आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्रीका क्रममा बदनियतपूर्ण तबरले फर्महरुसँग मिलेर रकक अपचलन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। 

मुद्दा दायर हुनेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौडेलसहित तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडा,  इन्जिनियर बिजयकुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिर कुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै  र सह लेखापाल छविलाल सुनार रहेका छन्। 

प्रवक्ता घिमिरेका अनुसार फर्महरुसँग मिलोमतो गरी धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआएको फर्मको धरौटी जफत नगरी अन्य ठेक्काको अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्नेजस्ता कामबाट ३६ लाख ७८ हजार ५४३ रुपैयाँ राजस्व हानीनोक्सानी गराएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथि ३६ लाख ७८ हजार ५४३ रुपैयाँ बिगो दाबी गरिएको छ। 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १६:२२
Weather Update