
पोखरा— नेकपा एमालेले नेतृत्व गरेको दोस्रो प्रदेश सरकार पनि ढलेको छ ।
विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको हो ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज भएको मतदानमा विश्वासको मत पाउन नसकेपछि उनको सरकार ढलेको हो । साथै, उनी स्वतः पदमुक्तसमेत भएका छन् ।
मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेश सभासमक्ष राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेपछि उनी पदमुक्त भएका हुन् । उनले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए ।
केन्द्रीय राजनीतिमा बदलाव आएसँगै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार दोस्रोपटक विश्वासको मत लिएका अधिकारीले आज विश्वासको मत प्राप्त गर्न नसकेका हुन् ।
अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।













