
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले संसद्मा चर्को स्वर गर्दा माहोल थप बिथोलिन पुग्यो।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर अवरोध गरिरहेको थियो। सो क्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका लागि वाग्ले रोस्टम पुगे। उनले नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्नुभन्दा कांग्रेसले गरिरहेको विरोधको निन्दा गरे।
वाग्लेले संसद्को निरन्तर विरोधले कांग्रेसका संस्थापक वीपी कोइरालाले स्थापित गरेको मानकको अपमान भएको भन्दै कटाक्ष गर्न थालेपछि वेल घेरेर विरोध गरिरहेका कांग्रेस सांसदहरु थप आक्रोशित बन्न पुगेका थिए। माहोल केही बिग्रिएपछि सभामुखले वाग्लेलाई विषयवस्तुमाथि केन्द्रीत रहन आग्रह गरे। तर वाग्लेले भने आफ्नो भनाइलाई निरन्तरता दिँदै वीपीले स्थापित गरेको मानकलाई आज यो अवस्थामा पुर्याउन भएको यस विरोधमा लज्जास्पद र औचित्यहीन विरोध भनेर टिप्पणी पनि गरे।
उनले भनेका थिए, ‘६५ वर्ष अगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर सबैका प्रेरणा मेरो त राजनीतिक आदर्श वीपी कोइरालाले स्थापित गरेको मानकलाई आज यो अवस्थामा पुर्याउनलाई, यो लज्जास्पद, औचित्यहिन विरोधप्रति मेरो खेद छ। संसद्को ओज, गरिमा, उपादेयतालाई असान्दर्भिक बनाउने यो कदमप्रति विरोध हो कि समाधान गर्ने हो। ७४ लाख बचतकर्ताहरुलाई राखेर समाधान उन्मुख हुने होकी व्यक्ति केन्द्रीत भएर खराब नजीर बनाउनेतिर नै जाने हो।’
उनले संसदीय छानबिन समिति बनाउनको लागि सहमति भइसकेको भन्दै यो कर्मकान्डी विरोधको कुनै सान्दर्भिकता नभएको बताए।
उनले भने, ‘संसदीय छानबिन समिति बनाउनको लागि सहमति भइसकेको छ। यो कर्मकाण्डी विरोधको कुनै सान्दर्भिकता छैन। यसको लागि म खेद प्रकट गर्छु। हामीले उल्लेख गरेको सुधारका कामलाई बजेटमा ठोस रुप दिने गरि अगाडि बढोस् र बढ्छ भन्ने विश्वास छ।’
यसको साथै, उनले १६औं पञ्चवर्र्षीय योजनाको बारेमा ठोस कदम अगाडि बढ्ने गरेर यसपालिको बजेट आउनु पर्ने भन्दै नीति तथा कार्यक्रमप्रति पार्टीको पूर्ण समर्थन रहेको जानकारी पनि गराएका छन्।
उसै पनि कांग्रेस परित्याग गरेका कारण वाग्लेप्रति कांग्रेसीहरु रुष्ट बनिरहेका छन्। २०८० साल वैशाख १० गतेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिएपछि कांग्रेस परित्याग गरेका उनीमाथि विभिन्न आरोप लगाइरहेका बेला उनको संसद्को अभिव्यक्तिले कांग्रेस सांसद्हरु थप आक्रोशित बन्न पुगेका हुन्।