News Griha :: न्यूजगृह
जेठ १५ गते मंगलबार संसद्मा बजेट प्रस्तुत हुने 

काठमाडौं—  आगामी आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराए। 

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन भनिएको छ। त्यसपछि अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। 

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसद्बाट बजेट ल्याउनुपर्ने प्रावधान अनुसार मंगलबार बजेट प्रस्तुत गर्न लागिएको हो। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न माग अघि सारेर संसद्मा अवरोध खडा गरिरहेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेता शेरबहादुर देउवासँग बिहान छलफल गरी संसद्बाटै बजेट ल्याउने गरी सहमति गरेको जानकारी गराएका छन्।  

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १४:००
Weather Update