News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले भने– मैले देउवाजीसँग संसद्बाटै बजेट ल्याउने गरी सहमति गरेको छु

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्यका लागि  बैठक सुचारु गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन्। 

प्रधानमन्त्री दाहालले भने, ‘मैले बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर उहाँसँग भेट गरी सहमतिको प्रयास गरेको छु। आज नभए भोलिसम्म बजेट संसद्बाटै ल्याउने गरी सहमति र समझदारी बन्ने विश्वास छ।’

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समिति गठनको मागका गर्दै आएको छ।

आगामी जेठ १५ गते संघीय संसद्का दुवै सदनमा बजेट पेस हुने कार्यसूची रहेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले जेठ १५ गते मंगलबार दिउँसो १ बजे संसद्मा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने समय तोकिएको जानकारी गराएका छन्। 

मंगलबार अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १३:५२
Weather Update