News Griha :: न्यूजगृह
कांग्रेसको अवरोधकाबीच संसद्बाट नीति तथा कार्यक्रम पारित 

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संसद्बाट पारित भएको छ। 

आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पेस गरेका थिए। 

आजै छलफलका लागि १ घण्टाको समय छुट्टयाइएको थियो। उक्त प्रस्तावमाथि एमालेका तर्फबाट सांसद विष्णु पौडेल, रास्वपाका तर्फबाट डा. स्वर्णिम वाग्ले, माओवादीका तर्फबाट जनार्दन शर्मा लगायतले छलफलमा भाग लिएका थिए। 

छलफलपछि सभामुख देवराज घिमिरेले उक्त प्रस्तावको पक्ष विपक्षका लागि निर्णायार्थ प्रस्तुत गरेका थिए। सो क्रममा प्रस्तावको पक्षमा बहुमत भएको भन्दै नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्।

छलफल अघि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए तर ती दुवैको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध कायमै रहेको थियो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समितिको मागसहित कांग्रेसले यसअघि जस्तै आज पनि विरोध जनाएको थियो। तर विरोधकाबीच सभामुख घिमिरेले बैठक अघि बढाएका थिए। 

संसद्को अर्को बैठक जेठ १५ गते मंगलबार बस्नेछ। जेठ १५ गते संयुक्त सदनको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ। दिउँसो १ बजे बजेट प्रस्तुतपछि अपरान्ह ४ बजेका लागि संसद् बैठक बोलाइएको छ। 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १३:२३
Weather Update