-1716706735.jpg)
काठमाडौं— आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षका सांसदहरुबीच धकेलाधकेलको स्थिती सिर्जना भएको छ।
यसअघि जस्तै निरन्तर सदनमा आज पनि कांग्रेसको अवरोध कायम रहेको छ। सोही क्रममा सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रमको समीक्षा र सार्वजनिक संस्थानको वार्षिक प्रतिवेदनसम्बन्धी प्रतिवेदन पेस गर्न समय दिएका थिए।
रोस्टममा जान लागेका अर्थमन्त्रीलाई कांग्रेसका सांसदहरुले रोकेको थिए। सो क्रममा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अर्थमन्त्रीको हात समातेर अघि बढाएपछि कांग्रेसका केही सांसदहरु थप आक्रोशित बन्दै बाटो रोकेका थिए।
कांग्रेसका सांसदहरु राजु थापा, बद्री पाण्डे, सीता मिजार लगायतले अर्थमन्त्रीको बाटो रोकेपछि सत्तापक्षका सांसदहरुले उनलाई रोस्टममा जान सहजीकरण गरेका थिए। सो क्रममा धकेलाधकेलको स्थिती समेत सिर्जना भएको थियो।
संसद्का मर्यादापालक र सत्तापक्षका सांसदहरुको सहयोगमा अर्थमन्त्रीले आफ्नो प्रतिवेदन पेस गरेका छन्। अहिले नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। तर प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोध पनि जारी छ।