News Griha :: न्यूजगृह
प्रचण्ड–माधव नेपालहरू सस्तो मूल्यमा बिकेर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाए : ओली 

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालहरूले सस्तो मूल्यमा बिकेर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ऐजेरु पलाएजस्तै पलाएको बताए । ‘कुनै पनि कम्युनिस्टहरू हाम्रै पार्टीबाट गएका हुन् है । प्रचण्ड कहाँबाट गएका ? यही कम्युनिस्ट पार्टीबाट ऐजेरु पलाएझैँ पलाएको त हो नि,’ उनले भने, ‘२००६ सालमा कहाँ दुई, तीन वटा पार्टी बनेको थियो र । यो पार्टी त पछिसम्म एउटै थियो ।’ 

कम्युनिस्ट पार्टी एकता र एकीकरणको माध्यामबाट दुई तिहाईको अवस्थामा पुर्‍याइएको तर प्रचण्ड–माधव नेपालहरूले सस्तोमा बिकेर त्यसलाई ध्वस्त बनाएको ओलीको जिकिर थियो । 

‘दुई तिहाई पुर्‍यार्‍यौँ हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर । पार्टी एकता र एकीकरण गरेर । तर टुप्पामा बस्ने नेताहरूलाई सही सक्नु भएन । र, उनीहरू बिके । यत्तिकै उनीहरूले भोलेन्टरिइली कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला । कुनै कारणबिना कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला,’ ओलीले भने, ‘सस्तो मुल्यमा । के, कस्तो मूल्यमा भन्ने कुरा उनले जान्ने कुरा हो । बाहिरबाट देखिने कतिपय स–साना कुराहरू हामी पनि देख्छौँ । तर, भित्री कुरा हामीलाई थाहा छैन ।’

ओलीले कम्युनिस्ट पार्टीमाथि २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको दाबी समेत गरे । 

ओलीले प्रचण्ड र माधव नेपालहरूले कम्युनिस्ट पार्टीको झण्डा बोकेर हिँड्नु बेकार रहेको टिप्पणीसमेत गरे । उनले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र १० वर्षभित्र मुलुकबाट गरिबी समाप्त पारिदिने बताए । २५ वर्षभित्र एमालेले मुलुकलाई आधुनिक र विकसित राष्ट्र बनाउने ओलीको भनाइ थियो । ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउन चाहेको उल्लेख गर्दै त्यसमा केन्द्रित भएर लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १९:३७
Weather Update