
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शीर्ष नेताहरुको छलफल सकिएको छ।
सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको कार्यादेशको विषयमा कार्यदलमा भएको छलफलको ‘ब्रिफिङ’ भएको थियो।
कांग्रेसका सांसद समेत रहेका कार्यदलका सदस्य जीवन परियारले सो विषयमा बैठकमा ‘ब्रिफिङ’ गरेका थिए।
तर सहकारी ठगी प्रकरणमा आफूहरुले उठाइरहेको मागका विषयमा आफूहरु लचक भए पनि सत्ता पक्ष नै छानबिन समिति बनाएर अघि बढ्ने कुराबाट पछि हटेको न्यूजगृहसँग बताए।
शनिबार कार्यदलको बैठकमा भएको सहमितका विषयमा पनि सत्तापक्षबाट ठोस निर्णय नआएको बताए।
‘हामीले संसद्को गतिरोध अन्त्यका लागि विभिन्न विकल्पकहरु आउँदा त्यसमा सहमति जनायौँ, तर उहाँहरु (सत्तापक्ष) नै सो विषयमा क्लियर नभएका कारण केही अन्योलता देखिएको छ,’ उनले भने।
शनिबार बसेको कार्यदलको बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री जोडिए पनि उनको नाम नराख्ने तर उनी जोडिएका सहकारी र संस्थाको नाम राखेर कार्यादेश बनाउने सहमति भएको थियो।
त्यसको अन्तिम रुप दिनका लागि शीर्ष नेताहरुलाई जिम्मा दिइएको थियो। शनिबार साँझ बसेको शीर्ष नेताहरुको बैठकमा त्यसको विषयमा ठोस निष्कर्ष निस्किन सकेको थिएन। आजका लागि शीर्ष नेताहरुबीचको छलफल बोलाइएको थियो। तर अझैसम्म बैठक बस्न सकेको छैन।
त्यसो त आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए।
बिहान सभापति देउवा निवास बूढानिलकण्ठमा भएको छलफलमा संसद्को गतिरोध अन्त्यका लागि आग्रह गरेका थिए। सो क्रममा सभापति देउवाले पार्टीभित्र ठूलो पंक्तिले गृहमन्त्रीको नाम किटान नगरी छानबिन समिति बन्न नहुने आवाज उठिरहेको जानकारी गराएका थिए।
सो विषयमा मोटामोटी सहमति भए पनि आज बस्ने भनिएको शीर्ष नेताहरुको बैठकमा थप छलफल हुने र त्यसबाट निष्कर्ष निस्किने परियारले बताए।