
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।
सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठकमा अहिले छलफल जारी रहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले न्यूजगृहलाई जानकारी दिए।
आइतबार बिहान देउवालाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देउवा निवास बूढानिलकण्ठ पुगेका थिए।
प्रधानमन्त्री फर्किएपछि नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्।
‘प्रधानमन्त्रीसँगको छलफलपछि सभापतिसहित शीर्ष नेताहरु आन्तरिक छलफलमा जुट्नुभएको छ,’ उनले भने।
आज नै सहकारी ठगी प्रकरणको छानबिन समितिको कार्यादेश (टीओआर) लाई अन्तिम रुप दिन प्रधानमन्त्री प्रचण्डसहित मुख्य राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल हुँदैछ।
यसअघि शनिबार साँझ पनि शीर्ष नेताहरुको बैठक बसेको थियो। हिजो बसेको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बनेको कार्यदलले कार्यादेशमा मोटामोटी सहमति गरेपछि त्यसको अन्तिम रुप दिने जिम्मा शीर्ष नेताहरुलाई दिइएको थियो।
आज कांग्रेसले सहकारी गठी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै त्यसको विरोधमा प्रदर्शन गर्दैछ। त्यसअघि बस्ने संघीय संसद्को दुवै सदनको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्।