News Griha :: न्यूजगृह
पूर्वप्रधानमन्त्री भट्टराईले कसलाई भने– के त्यो जादुगर हो ?
फाइल तस्बिर ।

काठमाडौं— पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन् । 

शनिबार नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा उनले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको उल्लेख गर्दै  दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरूपी हावा बगिरहेको बताए । उनले वैचारिक ढंगले अग्रगामी सोचका विरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको बताए । 

पूर्वप्रधानमन्त्री भट्टराईले देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरूको उदय हुनु भनेको राम्रो संकेत नरहेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति रवि लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरू राजनीतिमा आइरहेको बताए । 

‘यो देशभित्र पनि विभिन्न ढंगले शक्तिहरूको जुन उदय भइरहेको छ, त्यो एउटा पपुलिजमको रूपमा कुनै विचारधारा छैन, सिद्धान्त छैन, यत्रा गम्भीर समस्याहरू छन् । त्यसको कुनै विश्लेषण छैन । तर, त्यत्तिकै म आएपछि चकाचक गरिदिन्छु, भनेर मान्छे आएर उफ्रिन्छ, गरिब जनता विदेशतिर पलायन भएका जनता त्यसलाई नै ताली पिट्छन् ? के त्यो जादुगर हो ?,’ उनले भने,  ‘यस्ता चटके, जसको सिद्धान्त कुनै छैन, तर, जनतामा असन्तुष्टि देखाउन नेतालाई गाली गर्ने, सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन् । यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ । त्यसैले बेलैमा सबै आरोप प्रत्यारोपमा भन्दा छलफल गरौँ ।’ 

पूर्वप्रधानमन्त्री भट्टराईले माक्सले बनाएका विचारहरूको धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न जरुरी रहेको बताए । 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १९:०५
Weather Update