काठमाडौं— भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। सो शहरका प्रहरी कमिस्नर राजु भार्गवका अनुसार शनिबार भएको आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुगेको हो ।
बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन्।
‘आगलागीमा मृत्यु हुनेहरूको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ। शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,’ बीबीसीले लेखेको छ। शहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको सङ्ख्यामा दमकल परिचालन गरिएको थियो।
अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ। गेम जोनमा वेल्डिङको काम भइरहेको र सर्टसर्किटका कारण आगलागी भएको जनाइएको छ। तर आधिकारिकरूपमा भने यसबारे कुनै पुष्टि भइसकेको छैन।
त्यहाँको राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।