News Griha :: न्यूजगृह
सहकारी ठगीविरुद्ध कांग्रेस आजदेखि सडकमा, काठमाडौंमा विरोध प्रदर्शन गर्दै

काठमाडौं— सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहितलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आइतबार विरोध प्रदर्शन गर्दै छ। 

संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो ।

पहिलो चरणमा काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा आइतबार काठमाडौंमा गृहमन्त्री लामिछानेको रवैयाविरुद्ध विरोध प्रदर्शन गरिने कांग्रेसले जनाएको छ। 

काठमाडौंको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरेका छन्। 

सहकारीको बचत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले बजेट अधिवेशन सुरु भएयता सङ्घीय संसद्का हरेक बैठकमा अवरोध गर्दै आएको छ। 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०७:२०
Weather Update