
काठमाडौं— सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालयले आफ्नो गेटमा धूलो थुपारिदिने काठमाडौं महानगरको कदमलाई अराजक व्यवहार भन्दै प्रतिकार गर्ने चेतावनी दिएको छ ।
शनिबार साँझ काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालय गेट अगाडि धूलो थुपारिदिएपछि आक्रोशित भएको विभागले जे विषय उठाएर महानगरका मेयरले धूलो थुपारे, खास कुरा त्यो भन्दा भिन्न रहेको वितरणसमेत खुलाएको छ ।
सडक डिभिजन काठमाडौं अबेर राति विज्ञप्ति जारी गर्दै विवादको चुरो न्युरोड क्षेत्रमा बाटो साँघुरो बनाउने विषय रहेको बताएको छ। न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका लागि बाटो बनाउन महानगरले सुरु गरेको छ।
शनिबार दिउँसो १२ बजे बिनाअनुमति सडक काटी सडकको स्टान्डर्ड चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाएपछि त्यसलाई विषयान्तर गर्न महानगरले रिङरोडको विषय उठाएको डिभिजन कार्यालयले बताएको छ।
शुक्रबारमात्रै डिभिजन प्रमुख र महानगरका मेयर बालेनबीच आपसी सहकार्य गर्ने विषयमा छलफल भएको खुलाउँदै कार्यालयले आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने विषयलाई लिएर अराजक गतिविधि गरे प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएको छ।













