
काठमाडौं— सहकारी ठगीको विषयमा छानबिन समिति बनाउन कार्यविधि तय गर्न बसेको शनिबार बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको छ। कार्यदलको सदस्यसमेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आजको बैठक सहमति नजिक पुगेको जानकारी दिएका हुन्।
‘आजको बैठक सकारात्मक भएको छ,’ बर्तौलाले भने, ‘यसलाई अन्तिम टुंगोमा पुर्याउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग बस्न कार्यदलका सबै सदस्य बालुवाटार जाँदैछौँ। कार्यदलले गरेको प्रगति त्यहाँ राख्नेछौँ। कार्यदल जहाँबाट गठन भएको थियो, त्यहाँ नै पुगेर यसलाई फिनिसिङ गर्छौँ।’
कार्यदलको संयोजक रहेका कानुनमन्त्री पदम गिरीले पनि आज छलफल भएका विषय शीर्ष नेतासामु राखिने जानकारी दिए। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गिरीले आजको बैठक छानबिन समितिको कार्याविधि तय गर्ने विषयमा निकै महत्त्वपूर्ण भएको जिकिर गरे। बालुवाटार बैठकले नै यसलाई अन्तिम निष्कर्षमा पुर्याउने उनले बताए।
‘पहिले यो यो सहकारीबाट रकम अपचलन भएको र यी–यी व्यक्तिले अपचलन भएको भनेर लेख्नुपर्छ भन्ने मागका साथ प्रमुख प्रतिपक्षी दलले विषय उठाउँदै आउनु भएको थियो,’ गिरीले भने, ‘यता व्यक्तिको नामभन्दा पनि संकटग्रस्त सहकारीबारे छानबिन समिति बनाउनुपर्छ भन्ने सत्तापक्षको भनाई थियो। आज हामी जुन–जुन सहकारीबाट रकम अपचलन भएको छ र जुन–जुन कम्पनीबाट रकम अपचलन भएको छ, ती सबैको नाम उल्लेख गर्ने र छानबिन समिति बनाउन सकिन्छ भन्नेमा पुगेका छौँ।’