News Griha :: न्यूजगृह
कार्यदलको बैठक सकियो, बालुवाटारमा शीर्ष नेताहरूलाई ब्रिफिङ गरिने

काठमाडौं— सहकारीको रकम अपचनलबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बनेको कार्यदलको बैठक सकिएको छ। 

शनिबार अपरान्ह सिंहदरबारमा बसेको बैठकमा सहमति नजिक पुगिएपनि टुंगोमा भने पुगिनसकेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए। 

‘नजिक नजिक पुग्यौँ, ठ्याक्कै सहमति भइसकेको छैन,’ उनले भने। 

शनिबारको बैठकमा भएको छलफलबारे आजै शीर्ष नेताहरूलाई ब्रिफिङ हुने पनि उनले बताए। ‘बालुवाटारमा दलका शीर्ष नेताहरूसँग बस्नेछौँ, र यहाँ छलफल भएका विषय राख्नेछौँ,’ उनले भने। 

बालुवाटार बैठकबाटै अन्तिम निष्कर्षमा पुग्ने उनले बताए। आज बेलुकीसम्म पनि सहमति नजुटे संसद्‌मा पेलेरै अघि बढ्ने योजनामा सत्तारुढ दल छन्।

सरकारले जेठ १५ गते बजेट ल्याउनै पर्नेछ। त्यसअघि संसद् खुलाएर वातावरण सहज बनाउन प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसमेत लागेका छन्।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १८:५२
Weather Update