-1716460454.jpg)
काठमाडौं— सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक सुरु भएको छ।
केहीबेरअघि सिंहदरबारस्थित कानुन मन्त्रालयमा कार्यदलको बैठक सुरु भएको कार्यदलका सदस्य समेत रहेका रास्वपाका सांसद शिशिर खनालले न्यूजगृहलाई जानकारी दिए।
दिउँसो ३ बजेका लागि बैठक बोलाइए पनि कार्यदलका संयोजक समेत रहेका कानुनमन्त्री पदम गिरी गृह जिल्लाबाट फर्किन ढिला भएका कारण बैठक ढिलो सुरु भएको छ।
कानुनमन्त्री आएपछि बैठक सुरु भएको उनले बताए।
आजको बैठकमा सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर उनी जोडिएका सहकारीको नाम राख्ने विषयमा छलफल हुनेछ। यसअघिका बैठकमा आएको प्रस्ताव अनुसार गृहमन्त्री लामिछाने जोडिएको शूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको नाम कार्यादेशमा राख्ने गरी छलफल हुने उनले बताए।
‘आजको बैठकमा व्यक्ति केन्द्रीत भन्दा पनि समग्र सहकारीको समस्या समाधान हुने गरी छलफल हुनेछ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी कांग्रेसको अडान अनुसार सहकारीको नाम राखेर कार्यादेश बनाउने विषयमा हाम्रो सहमतिको प्रयास रहन्छ।’
यसअघि निरन्तर छलफल भए पनि अझै निष्कर्ष निस्किन सकेको छैन। यसअघि शुक्रबार कार्यदलको बैठकपछि प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका थिए। शीर्ष नेताहरुको छलफल सकारात्मक भए पनि छानबिन समितिको कार्यादेशबारे भने सहमतिमा पुग्न सकेको थिएन।













