-1716460454.jpg)
काठमाडौं— सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन आज पनि कार्यदलको बैठक बस्दैछ।
यसअघि शुक्रबार बसेको बैठक निष्कर्षविहीन भएपछि दिउँसो ३ बजे कानुन मन्त्रालयमा बस्ने गरी बैठक बोलाइएको हो। यसअघिका कार्यदलको बैठकमा सत्ता पक्ष र प्रतिपक्षको आ–आफ्नै अडानका कारण बैठक निष्कर्षविहीन बन्दै गइरहेको थियो।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो यसअघिको अडानलाई कायमै राख्नेछ। कार्यदलका सदस्य समेत रहेका नेपाली कांग्रेसका सांसद जीवन परियारले आफूहरुले पूरानै अडानलाई कायम राख्ने न्यूजगृहलाई जानकारी दिए।
आजको बैठकमा सहमति हुने वा नहुने भन्नेमा सरकार पक्षको हातमा कुरा रहेको उनले बताए।
‘आजको बैठकमा सहमति हुन्छ वा हुँदैन भन्ने कुराको जिम्मा सरकार पक्ष रहेको छ। यदी उहाँहरुले लचक भएर आउनु भयो भने हामी साथ दिन्छौँ नभए हाम्रो पूरानै अडान कायम रहन्छ,’ उनले न्यूजगृहसँग भने।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले उनको नाम किटान गरेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आइरहेको छ। भने एमाले रास्वपा लगायतका दलहरु भने समग्र सहकारीको समस्या समाधान हुने गरी कार्यादेश टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै आइरहेका छन्।
यद्यपि यसैबीचमा रवि लामिछानेको नाम नराख्ने तर उनी जोडिएका सहकारीका नाम राखेर अघि बढ्ने विषय पनि उठेको छ। कार्यदलमा उक्त प्रस्ताव आए पनि आफूहरु गृहमन्त्री जोडिएको विषयमा उनको नाम नराखी अघि बढ्ने पक्षमा नरहेको बताए।
‘उहाँहरु गृहमन्त्रीको नाम नराखी उहाँ जोडिएको सहकारीको नाम मात्रै राखेर अघि बढ्ने भनिरहनुभएको छ। तर त्यसरी त समस्या समाधान हुँदैन,’ उनले भने, ‘सत्तापक्षका साथीहरुबाट सहकारीको नाम मात्रै राखेर अघि बढ्न कांग्रेस तयार रहेको भन्दै हिँड्नु भएको छ, हामी केही लचक भए पनि हामी हाम्रो बटमलाइनबाट पछि हटेका छैनौँ।’
यसअघि शुक्रबार अपरान्ह प्रमुख दलका नेताहरुले सो विषयमा छलफल गरेका थिए। छलफल सकारात्मक भए पनि सहमति भने जुट्न सकेको छैन।