
तनहुँ— तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण भएको छ। पुल निर्माणपछि पाल्पा र तनहुँको यात्रा सहज हुने भएको छ।
गण्डकी प्रदेशको ग्रामीण क्षेत्र तनहुँको घिरिङ र लुम्बिनी प्रदेशको पाल्पाको रामपुर जोड्ने उद्देश्यले पुल निर्माण गरिएको हो। पुल निर्माणपछि स्थानीयलाई स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने भएको छ।
कालीगण्डकी नदी मोटरेवल पुल पुट्टारघाट (तनहुँ–पाल्पा) उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले २०७३ सालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट प्राप्त भएपछि कालीगण्डकी नदी माथि पुल निर्माण थालिएको बताए।
कालीगण्डकी नदी पुल निर्माण ९० प्रतिशत पूरा भएको उनले जानकारी दिए। वर्षायाममा बाढी आउने समयमा नै सञ्चालनमा आउने गरी पुल निर्माणका काम भइरहेको उनको भनाइ छ ।
पुल नहुँदा विगतमा भोग्दै आएको सास्तीको समाधान गर्ने र दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने उद्देश्यले स्थानीयको पटक–पटकको प्रयासले मोटरेवल पुल निर्माण भइरहेको उनले बताए।
घिरिङमा बाढी, पहिरो, आगलागीजस्ता विपद् आइपरेको खण्डमा सदरमुकामबाट सहजरुपमा सहयोग पुग्न नसकेको अवस्थामा पनि प्रदेश राजधानी पोखरा, रामपुर, तराई क्षेत्रबाट सहजरुपमा सहयोग पाउन सक्नेछ । वर्षायाममा खहरे खोलामा बाढी आएको अवस्थामा समेत यस पुलमार्फत अन्यत्र आवतजावत गर्न सकिनेमा स्थानीय विश्वस्त छन्। मोटरेवल पुल दुई सय १० मिटर लम्बाइको बन्नेछ। पुल निर्माणका लागि २०७३ असार ३ गते निर्माण सम्झौता भएको हो। शर्मा, युनाइटेड विल्डर्स, रमन जेभीले २४ करोड ७९ लाख ७९ हजार एक सय २५ मा ठेक्का सम्झौता गरेको छ।
वर्षायामसँगै आउने बाढीपहिराले स्याङ्जा हुँदै पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएपछि खुसी लागेको स्थानीय दानबहादुर शाहीले बताए। स्याङ्जाको बाटो भएर पाल्पा जाने क्रममा पनि खोलामा मोटरेवल पुल नहुँदा यात्रामा समस्या आउने गरेको थियो। मोटरेवल पुल निर्माण भएपछि भने चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्।
कालीगण्डकी करिडोरसँग जोडिएकाले सहजरुपमा पहाड तथा हिमाली जिल्लातर्फ र तराईतर्फ आवजतजावतमा सहज हुने मोटरेवल पुल बन्नेछ। पुल निर्माण भएपछि तनहुँलगायत पाल्पा, स्याङ्जा र नवलपुरका करिब तीन लाख स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्। यो दुई प्रदेशका ग्रामीण क्षेत्रलाई जोड्ने मोटरेवल पुल बनेको हो।













