
काठमाडौं— सहकारी प्रकरणमा छानबिन समितिसहितको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रमुख दलको बैठकबाट प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस बाहिरिएको छ।
बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी, गृहमन्त्रीको लाञ्छनायुक्त अभिव्यक्तिसहितका विषयमा छलफल भएको जानकारी दिए।
‘सहकारीबाट रकम अपचलन र ठगीको विषयमा छानबिन गर्न संसदीय समिति बनाउने कुरा भएको छ। समिति कस्तो बनाउने भन्नेमा साथीहरूले काम गरिरहनुभएको छ। समिति गठनमा सबैको जोडबल र सकारात्मक कुरा भएको छ,’ लेखकले भने, ‘यी बाहेक कान्तिपुरका अध्यक्षलाई धरपकड गरिएकोमा हामीले प्रधानमन्त्रीको गम्भीर रुपले ध्यानाकर्षण गराएका छौं। त्यस्तै गृहमन्त्रीले संसद्को रोस्ट्रमबाट जुन ढंगले प्रश्न उठाउनुभयो। यसमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं। यसको बारे पनि प्रधानमन्त्रीबाट जवाफ खोजेका छौं।’
संसद्मा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले सत्तापक्ष, प्रमुख प्रतिपक्षसहितका शीर्ष नेतासँग छलफल गर्न शुक्रबार साँझ बैठक बोलाएको थिए।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बर्तौला, कांग्रेसका नेता पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, माओवादीका हितराज पाण्डेलगायतका नेताहरू सहभागी थिए ।
समिति गठनको गाँठो नफुक्दा शुक्रबार पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो।