काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष दलका नेतासँग छलफल सुरु गरेका छन्। बालुवाटारमा प्रधानमन्त्रीले समसामयिक बिषयमा नेताहरुसँग छलफल गरेका हुन्।
छलफलमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागि छन्।
प्रधानमन्त्रीले एमाले, माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेतासँग छलफल गरेर संसद्को अवरोध खुलाउने विकल्प खोज्न लागेका हुन्।
कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति, संसद्मा जारी विरोध र संसदीय समितिको कार्यादेशका विषयमा शीर्ष नेतासँग छलफल गरेपछि सहज अवस्था हुने प्रधानमन्त्रीले अपेक्षा गरेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले शुक्रबार बिहान मात्रै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए। उनले संसद्मा जारी अवरोधले नीति तथा कार्यक्रम पारित गर्न असमर्थ भएको राष्ट्रपतिसँगको भेटमा चर्चा गरेका थिए। यही अवस्था जारी रहे नयाँ बजेट संसद्मा प्रस्तुत गर्न सम्भव नहुने तर्फ पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई अवगत गराका शीतल निवास स्रोतले बताएको छ।
संसदको बैठक शुक्रबार पनि अवरुध्द भएको छ। अर्को बैठक जेठ १३ गतेलाई बोलाइएको छ। त्यसदिनसम्ममा प्रतिपक्षी दलसँग सहमति बनेर संसद् निर्वाध अघि बढ्नसक्ने अवस्था आयो भने सरकार नीति तथा कार्यक्रम पारित गराएर बजेट घोषणाको अन्तिम तयारीमा लाग्ने देखिएको छ।
केहीगरी प्रतिपक्षी दल सहमत नभएर अवरोध जारी रहने परिस्थिति देखियो भने बजेट अधिवेशन नै अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने प्रधानमन्त्रीको रणनीति रहेको स्रोतको दाबी छ।
यही कारणले राष्ट्रपतिसँग परामर्श गरेपछि प्रधानमन्त्रीले दलका शीर्ष नेताहरुसँग छलफल गरेका हुन्।