
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा उनले पछिल्लो समय कम्युनिस्ट आन्दोलनमा मात्र नभइ देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको दाबी गरे ।
उनले समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने हो की भन्ने डर पलाएको बताउनु भयो । उहाँले गत निर्वाचनमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेन्टलाई प्रश्रय दिएकोप्रति दुःख व्यक्त गरे । ‘यस्तो बेलामा बौद्धिक पक्षबाट बुद्धिजीवीबाट अलि हस्तक्षेप बढ्न जरुरी छ,’ उनले भने ।
उनले लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरू, त्यसका नेताहरूप्रति जति सजिलै नराम्रा अभिव्यक्ति दिन समाज लागिपरेको बताए । ‘अहिले कतै न कतै लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरू, त्यसका नेताहरुप्रति जति सजिलै र धेरै तल उत्रिएर गालीगलौज देख्नेगरी अहिले वैचारिक विषयहरू वा यस खालका लेख, रचनाहरूतिरभन्दा सोसल मिडिया, युट्युब, टिकटकमा मान्छे लागेका छन्,’ उनले चिन्ता व्यक्त गरे, ‘त्यसले मान्छेलाई क्षणिक उत्तेजना, क्षणिक आवेगमा ल्याउने र त्यसरी समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौती आफूसमक्ष रहेको बताए ।













