
काठमाडौं— सहकारी ठगी प्रकरणको विषयले संसद्मा निरन्तर अवरोध भएपछी शीर्ष नेताहरु छलफलमा जुटेका छन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता कृष्ण सिटौला, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र एमाले प्रमुख सचेतक महेश बर्तौला लगायत उपस्थित रहेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संसद्को गतिरोध अन्त्यका लागि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए।
सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठकले निष्कर्ष निकाल्न सकिरहेको छैन। आज बसेको बैठकमा पनि सत्ता पक्ष र प्रतिपक्ष कार्यदलका सदस्यहरुबीच सहमति नजुट्दा शीर्ष नेताहरु छलफलमा जुटेका हुन्।
कार्यदलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समिति माग गरेको हो। तर एमाले, रास्वपा लगायतका दलहरुले गृहमन्त्री लामिछानेलाई मात्रै लक्षित गरेर संसदीय छानबिन समिति बनाउन नहुने भन्दै समग्र सहकारीको समस्या समाधान गर्नेगरी अघि बढ्नुपर्र्ने धारणा राख्दै आइरहेका छन्।