News Griha :: न्यूजगृह
आजदेखि टिप्ताला नाका खुला

फुङ्लिङ— ताप्लेजुङको टिप्ताला नाका आजदेखि खुला गरिएको छ। नेपाल–चीनको सीमानामा रहेको यो नाका कोरोना महामारी यता बन्द थियो।

लामो प्रयासपछि आजदेखि नाका खुलेको फक्ताङलुङ गाउँपालिका–७ वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टी जानकार छेतेन लामाले बताए। लामाका अनुसार नाका खुला गरिएसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन्। उनीहरुले नेपालमा उत्पादित  गलैँचा, दूधजन्य पदार्थ घ्यू, छुर्पीलगायका सामग्री लगेका छन्। उनीहरु करिब १० दिनसम्म तिब्बतमा रहनेछन्। 

गत वैशाख अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको एक टोली टिप्ताला नाका पुगेको थियो। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनतर्फबाट तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारीसँगको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो। 

चीनतर्फबाट तयारी पूरा गरेर आजबाट नाका खुलाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ। 

नेपालबाट व्यापार अध्ययनका लागि पहिलो चरणमा ३० जना व्यापारी तिब्बतको रिउ प्रवेश गरेका हुन्। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एक सय १५ जनाले तिब्बत प्रवेशका अनुमति लिएका छन्। 

जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप र ७ ओलाङचुङगोलाबासीले अनुमतिपत्र लिएका छन्। त्यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङका नागरिकले समेत अनुमति पाएका छन्। टिप्ताला नाका कोरोना महामारीयता बन्द थियो।

आचार्यले टिप्ताला नेपाल–तिब्बतको महत्वको व्यावसायिक नाकासमेत भएकाले द्विदेशीय व्यापार प्रवद्र्धनमा समेत यो नाकालाई भरपूर उपयोग गर्नुपर्ने बताए। ‘व्यावसायिक हिसाबले यो नाका महत्वको छ, यसलाई उपयोग गर्ने गरी सबै पक्षबाट सहयोग र समन्वय जरुरी छ,’ उनले भने। 

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको प्रमुख पुर्खौली पेसा पशुपालनमा९याक० निर्भर हुँदै आएको छ। चीनका बजारमा चौँरी याकहरुको माग राम्रो छ। यहाँका चौँरी याक चीन निर्यात गर्नका लागि चौँरी याक गोठलाई मुख्य पेसाको लिएका छन्। चौँरी याक निर्यात हुन नसक्दा किसानलाई आर्थिकरुपमा समेत संकट बेहोर्नुपरेको मिक्वाखोला गाउँपालिका–५ का चौँरी याक पालक मिलन दोर्जेको भनाइ छ।

पाँच हजार दुई सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा दुई साता अगाडि मात्र पहिलोपटक नेपाली गाडी (ट्र्याक्टर) पुर्‍याइएको थियो। सडक निर्माण कम्पनीका ठेकेदार पेम्बा ठिले शेर्पा ६ वर्षदेखिको मेहनत सफल भएको बताए। 

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिप्ताला भञ्ज्याङको दूरी ८५ किलोमिटर छ। आयोजनाका म्यानेजर राजीव लामिछानेका अनुसार ट्र्याक्टर सदरमुकाम फुङलिङबाट सीमानासम्मै पुग्छ। 

सडक निर्माणमा द्विदेशीय सिमाना नजिकैको बस्ती ओलाङचुङगोलाबासीहरुको पनि त्यतिकै योगदान छ। यहाँ जन्मेर देश विदेशमा रहेकाबाट प्राप्त दुई करोडभन्दा बढी रकमबाट सिमानादेखि बस्तीसम्मको २४ किलोमिटर सडक निर्माण गरिएको थियो। 

तमोर नदीको उद्गमस्थलसमेत रहेको टिप्ताला भञ्ज्याङदेखि तमोरको किनारै किनार धनकुटाको मूलघाट, भेँडेटार हुँदै विराटनगरको रानी भन्सारसम्मको दूरी करिब तीन सय मिटर रहेको सडक कार्यालयले जनाएको छ। त्यसैले यो सडकलाई उत्तरतर्फको सबैभन्दा छोटो दूरीको सडक भएको सडक कार्यालयको दाबी छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १६:०७
Weather Update