
काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन् ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालको कम्युनिस्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको दाबी गरे । उनले कम्युनिस्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको बताए ।
‘अहिले नेपालको राजनीतिमा वा कम्युनिस्ट आन्दोलनमा भन्ने हो भने एक भारी विकृतिहरू विद्यमान छन् । व्यक्तिवादको रोग लागेको छ । भ्रष्टीकरणको प्रवृत्ति व्याप्त रहेको छ,’ उनले भने, ‘सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छ । अरूलाई मान, सम्मान, मर्यादा गर्ने होइन, अरू सबैलाई बडो अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त छ ।’
अध्यक्ष नेपाललेकसरी असल संस्कार भएका कम्युनिस्ट बन्ने भन्नेबारेमा बृहत् छलफल र बहस गर्न जरुरी रहेको बताए । उनले सच्चा कम्युनिस्टहरू एक ठाउँमा मिल्नुको विकल्प नरहेको जिकिर गरे ।













