-1716529257.jpg)
काठमाडौं— बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन।
प्रतिनिधि सभा बैठकमा निरन्तर अवरोध जारी रहेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै निरन्तर संसद् अवरोध गरिरहेको हो।
सहकारी ठगी प्रकरणको बारेमा छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी रहेको छ। सिंहदरबारस्थित कानुन मन्त्रालयमा जारी छलफलले सहमति गरेमा आजको बैठकमा जारी अवरोध हट्ने अपेक्षाका साथ बैठकको प्रक्षितामा सभामुख रहेको सभामुखको प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
त्यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा विपक्षी दलको बैठक समेत बसेको छ। नयाँ बानेश्वरस्थित देउवाको कार्यकक्षमा जारी बैठकमा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल जारी रहेको हो।
दुवै पक्षबाट सकारात्मक सहमति भएमा आजको बैठकमा अवरोध हट्नेछ। तर सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको नाम राख्ने वा नराख्ने भन्ने विषयमा कार्यदलमा कुरा नमिल्दा यसअघिका बैठकहरु निष्कर्षविहीन बन्दै गइरहेको थियो।
निरन्तर कांग्रेसले संसद्मा अवरोध गरेपछि गत शनिबार संसदीय छानबिन समिति बनाउन सत्ता र प्रतिपक्षबीच सहमति जुटेको थियो। तर कार्यादेश टुंगो नलाग्दा समिति बन्न नसकेको हो।