News Griha :: न्यूजगृह
संघीय सरकारप्रति बालेनको कटाक्षः कि आफू काम गर्नु, नभए हामीलाई गर्न दिनु 
फाइल तस्बिर

काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले यसअघि सरकारले बजेटमार्फत घोषणा गरेको काम नगरेको भन्दै कटाक्ष गरेका छन्। 

चालु आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा ‘प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाइनेछ’ भनिएकोमा उक्त कामको प्रगती शून्य भएपछि सामाजिक सञ्जालमा बालेनले कटाक्ष गरेका हुन्।

‘सरकारले आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु। २०८१ वैशाख १ गतेदेखि प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइनेछ, भनेको थियो। यो व्यवस्था सूर्तीजन्य वस्तु, धुमपानजस्ता प्लाष्टिकमा प्याक गरेका वस्तुका लागि पनि हो। आज जेष्ठ  महिनाको ११ गते भइसक्यो। घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार छैन। यसकारण हामी संघीय सरकारलाई उक्त मिति सम्झाउन चाहन्छौँ,’ बालेनले भनेका छन्। 

त्यस्तै काठमाडौं महानगरपालिकाले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरूलाई बिक्री वितरण गराउन नपाउने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकी सो वरपर सुर्तीजन्य, मदिराजन्य र जङ्कफुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने कानुनी व्यवस्था गरेको स्मरण गराउँदै संघीय कानुन नबाझिने गरी आफूहरुले कसरी काम गर्न सक्छौँ भन्दै प्रश्न गरेका छन्। 

‘काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ ले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरूलाई बिक्री वितरण गराउन नपाउने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकी सो वरपर सुर्तीजन्य, मदिराजन्य र जङ्कफुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने कानुनी व्यवस्था छ। सभाले निर्माण गरेको, माथिल्ला कानुनसँग नबाझिने यो कानुन कार्यान्वयन गर्न हामीले कुन उपाय लगाउनु पर्ला? संघीय सरकार? केही सुझाइदिनुहुन्छ?,’ उनले भनेका छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:५१
Weather Update