इलाममा पौडी खेल्न गएका २ बालक नदीमा डुबे, ३ जनाको उद्धार

काठमाडौं— इलाममा पौडी खेल्ने क्रममा स्थानीय माईखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।
बिहीबार साँझ पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई बालकको मृत्यु भएको हो। पौडी खेलिरहेको अवस्थामा तीन जना बालकको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगुले जानकारी दिए।
मृत्यु हुनेमा माई नगरपालिका–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही ठाउँका ८ वर्षीय किस्मन आङदाम्बे छन्।
‘उनीहरूसँगै पौडी खेल्न गएका अन्य तीन जना बालबालिकाको भने सकुशल उद्धार गरिएको छ,’ डीएसपी जबेगुले भने।
गाउँका पाँच जना बालबालिका बिहीबार दिउँसो माई नगरपालिका—८ बाँदर गाउँस्थित माईखोलामा पौडी खेल्न जाँदा घटना भएको हो। घर फर्किन ढिलो गरेपछि अभिभावकले उनीहरूको खोजी सुरु गरेका थिए।
त्यसक्रममा दुई बालकलाई प्रहरी र स्थानीयले नदीमा डुबेको अवस्थामा फेला परेका थिए।
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१ ०९:४२













