News Griha :: न्यूजगृह
कैलाश सिरोहियालाई आज पुनः अदालत लगिँदै

काठमाडौं—  नागरिकता प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियालाई शुक्रबार दोस्रोपटक अदालत पेस गरिँदै छ। 

धनुषा प्रहरीका प्रवक्ता, डीएसपी रञ्जन अवाका अनुसार अनुसन्धान जारी रहेकाले सिरोहियालाई दोस्रोपटक म्याद थप्न जिल्ला अदालत पेस गर्न लागिएको हो। 

‘बुधबार अदालतले पहिलोपटक दिएको ३ दिनको म्याद आजबाट सकिँदै छ त्यही भएर पुनः म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो,’ उनले भने।

गत बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई ३ दिन (आजसम्म) हिरासतमा राखेर नागरिकता कसुरमा अनुसन्धान गर्न अनुमति दिएको थियो।

प्रहरीले पहिलोपटक ५ दिन हिरासतमा राख्न माग गर्दै सिरोहियालाई बुधबार अदालतमा पेस गरेको थियो।

नागरिकता कसुरमा सिरोहियालाई मंगलबार साँझ काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी धनुषा लगिएको थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०८:५८
Weather Update