News Griha :: न्यूजगृह
सहकारी प्रकरण: संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन आज पनि बैठक

काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन गठित कार्यदलको बैठक शुक्रबार पनि बस्दै छ।

बैठक आज बिहान ८ बजे बस्ने तयारी छ । हिजो बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको परामर्शपछि आज बिहान पुनः बैठक बस्न लागेको हो ।

हिजोको बैठकमा सत्ता पक्ष एमाले र रास्वपाले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सानो पाइला लगायतका सहकारीको नाम उल्लेख गर्ने तर उपप्रधानमन्त्री लामिछानेको नाम उल्लेख नगर्ने प्रस्ताव गरेका थिए।

यो प्रस्तावमा कांग्रेस लचक भएको र शीर्ष नेताहरूसँग छलफल गरेर पुनः बैठक बस्ने सहमति अनुसार शुक्रबार बिहान बैठक बस्न लागेको एमाले नेता महेश बर्तौलाले जानकारी दिए।

कार्यदलमा रहेका नेपाली कांग्रेसका सांसद जीवन परियारका अनुसार सत्तापक्षले गृहमन्त्रीको नाम नराखी छानबिनको दायरा फराकिलो बनाउन सकिन्छ भन्ने प्रस्ताव गरेको भन्दै गोलमटोल भाषाले छानबिन अगाडि बढ्न नसक्ने बताएका थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०६:४६
Weather Update