सिरोहिया पक्राउ बारे ओलीको टिप्पणी- गलत व्याख्या नगरौँ

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा गलत व्याख्या गर्न नहुने बताएका छन्।
झापामा रहेका ओलीले सिरोहिया पक्राउ परेको विषयमा मिडियामाथिको आक्रमण भनेर गलत व्याख्या उचित नहुने बताए। उनले देशमा सबै कानुनको मातहतमा छन् भन्ने बुझ्नु र मान्नु पर्ने बताएका छन्।
उनले भने, 'त्यसमा विवादका विषय हुन सक्छन्, तर उनलाई जन्मकैद गर्न खोजिएको होइन। कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ।'
उनले टाइमिङ ठीक भयो कि भएन, त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? भन्दै प्रश्न गरेका छन्।
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१ १८:४१













