-1716460454.jpg)
काठमाडौं— सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ। बैठक बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसके पनि सकारात्मक छलफल गरेको सदस्य महेश बर्तौलाले जानकारी दिए।
कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको उनले बताए। आजको बैठकमा केही ठोस विषयमा छलफल भएको र भोलि बिहान बस्ने बैठकमा सहमति हुने बर्तौलाले दाबी गरे।
त्यस्तै रास्वपाका शिशिर खनालले आजको बैठकमा कांग्रेस लचक भएको आफूले बुझेको बताउँदै थप छलफल गरेर बैठक बस्ने कुरा भएको बताए।
त्यस्तै कार्यदलका सदस्य जीवन परियारले बैठकमा कार्यादेश रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमा आफूहरूको अडान कायम रहेको बताए। आफूहरूले गोलमटोल भाषाको प्रयोग मान्य नहुने स्पष्ट रुपमा राखेको बताउँदै परियारले सम्बन्धित व्यक्तिको नाम उल्लेख नगरी कांग्रेस सहमतिमा नआउने स्पष्ट गरे। आज सत्ता पक्षले राखेको प्रस्तावमा कांग्रेस सहमत हुने अवस्था नबनेको बताए।
कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन्। कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन्। यसअघि आइतबार भएको कार्यदलको बैठकमा सहमतिमा नपुगे पनि अर्को बैठकमा सत्ता पक्षले परिमार्जित प्रस्ताव पेस गर्ने सहमति भएको थियो।