
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्ना दलका कसैले गलत गरेको भएमा सबैमाथि छानबिन गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन्।
बिहीबार पार्टी निकट नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै आफूहरु जुनसुकै विषयमा छानबिन गरे पनि तयार रहेको बताए।
‘कांग्रेसको चलनचल्तीको भाषामा भन्दा दाजु–भाउजू, मामा, माइजू कांग्रेसको को–को माथि सभापति, उपसभापति, पदाधिकारी को–को?,’ महामन्त्री शर्माले भने, ‘कसको कसको छानबिन गर्नुछ नाम, थर, गोत्र, ससुराली, हातका शंख र चक्र सबै लेख्नुस् तर छानबिन गम्भीरतापूर्वक हुुनुपर्छ।’
त्यस्तै केही दिन अघि पार्टीका अर्का महामन्त्री गगन थापामाथि आरोप पुष्टि नभए राजनीति छोड्न तयार हो? भन्दै प्रश्न गरेका गृहमन्त्री लामिछानेलाई सहकारी प्रकरणमा दोषी देखिए राजनीति छोड्ने नभइ जेल जाने भन्दै टिप्पणी गरे।
महामन्त्री शर्माले भने, ‘नयाँ दलको एउटा मित्रले के भन्नुभएछ भने, ममाथि छानबिन गर्नुस् यदि दोषी देखिनुभयो भने उहाँले पनि राजनीति छोड्नुहुन्छ हामी पनि राजनीति छोड्छौँ। विश्वप्रकाश शर्मामाथि छानबिन गर्ने, दोषी देखिए जेल जाने हो, बाँकी कांग्रेस जाने होइन।’
त्यस्तै कांग्रेसले सहकारीको विषयमा गृहमन्त्रीमाथि मात्रै लक्षित नभएको भन्दै समग्र सहकारी पीडितको कांग्रेस रहेको स्पष्ट पारे।