-1716447019.jpg)
गलकोट— वैधानिक रुपमा शिकार खेल्न पाइने नेपालकै एक मात्र शिकार आरक्ष ढोरपानटन शिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको शिकार भएको छ।
दोस्रो शिकार याममा ढोरपाटन आरक्षले शिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, सात झारल र चार बनेलको शिकार गर्न अनुमति दिएको थियो।
अनुमति पाएका तीन बनेलको शिकार गर्न नसकेको र एक नाउर र एक बनेलको शिकारका लागि अनुमति प्राप्त गरी राजश्व बुझाएका रसियन शिकारी शिकार खेल्नै नआएको ढोरपाटन शिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिए।
सूचना अधिकारी अधिकारीका अनुसार विदेशी शिकारीले नाउर शिकारका लागि प्रतिस्पर्धाका आधारमा २१ लाख राजस्व बुझाएको र एक झारला लागि अधिकतम १८ लाख राजस्व बुझाएका थिए।
उनले भने ‘दोस्रो वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका शिकारीले अनुमति पाएका थिए।यसवर्ष स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र उज्बेकिस्तानका एक शिकारी छनोट भएका थिए। शिकारीहरु बन्दोबस्तीका सामग्रीसहित गत फागुन १८ गतेदेखि शिकार खेल्न सुरु गरेका थिए।’
शिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी शिकारीसँग खटिएको आरक्षका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए। विभागले हरेक वर्ष नाउर र झारलको शिकारका लागि कोटा निर्धारण गर्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो शिकार याम असोज–मंसिरमा आठ नाउर, चार झारल र आठ बनेलको शिकार गरिएको थियो । शिकारका आरक्षको क्षेत्रलाई सेङ्ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ।
ढोरपाटन क्षेत्रमा वर्षेनी (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा शिकार हुँदै आएको छ।
आरक्षमा यसपटक नेपाल वाइल्डलाइफ एड्भेन्चर, हिमालय सफारिज, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्पेडिसन र ओपन नेपाल वाइल्ड लाइफ सफारिजमार्फत शिकारी शिकार खेल्न अनुमति पाएका थिए।
यसपटकको सबैभन्दा बढी शिकार घुस्तुङ, दोगाडी र सेङ्ग ब्लकमा शिकार भएको जनाइएको छ। विदेशी शिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा शिकार खेलिसक्नुपर्ने हुन्छ। जङ्गलमै बास बस्ने शिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै शिकार खेल्न पाउँछन्। साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजस्व दर निर्धारण गर्छ। नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकोप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना शिकारीले करिब ३० देखि ३५ लाखसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ।
विस २०४४ सालमा स्थापना भएको शिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भएपनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ। शिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाले गर्दै आएको छ।













