News Griha :: न्यूजगृह
भारतमा बंगलादेशका सांसद मृत भेटिए

काठमाडौं— भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद अनवरुल अजिम अनार कोलकातामा मृत फेला परेका छन्। बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले कोलकाता प्रहरीलाई उद्धृत गर्दै यसको पुष्टि गरेका हुन् ।

कोलकाता प्रहरीले भने सांसद अनवरुलको शव न्यू टाउन क्षेत्रमा शंकास्पद अवस्थामा फेला परेको बताएको छ। यस घटनामा प्रहरीले ३ जना बंगलादेशीलाई पक्राउ गरेको छ। साथै यसलाई पूर्वनियोजित हत्याको रुपमा व्याख्या गरिएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार सांसद अनवरुल मे १२ मा उपचारका लागि कोलकाता आएका थिए। भोलिपल्टै उनी बेपत्ता भएका थिए। उनको फोनसमेत अफ भएको थियो। यसपछि १७ मे मा बिहारको कुनै इलाकामा उनको फोन केही समयको लागि स्वीच अन भयो। प्रहरीका अनुसार उनको फोनबाट उनको परिवारका सदस्यहरूलाई नयाँ दिल्ली गएको सन्देश पठाइएको थियो।

अनवारुल अजिम अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद हुन्। उनले २०१४, २०१८ र २०२४ मा झेनैदह–४ सिटबाट चुनाव जितेका थिए। अनवरुलको मृत्यु हुनुअघि उनका परिवारका सदस्यहरूले शेख हसिनालाई भेटेर मद्दत मागेका थिए।
बंगलादेशी दूतावास पनि प्रहरीसँग निरन्तर सम्पर्कमा रहेको र बंगलादेश सरकारले सम्पूर्ण मामिलाको प्रतिवेदन मागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १८:३०
Weather Update