
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने भएको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेविरुद्ध शुक्रबारबाट आन्दोलनमा जाने निर्णय गरेको हो।
बैठक चलिरहँदा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सो कुरा जानकारी गराएकी हुन्।
उनका अनुसार जेठ ११ गते शुक्रबार काठमाडौंमा विरोधसभा गर्ने र त्यसपछि सबै प्रदेशहरुमा त्यसको विरोध गर्ने निर्णय गर्न लागिएको हो।
‘नेपाली कांग्रेस सदनभित्र पनि संसदीय छानबिन समिति लगायत तमाम मुद्दाहरुमा विषयमा सशक्त आवाज रुपमा उठाउने र जनताका तमाम सवालमा कांग्रेसको यही शुक्रबार काठमाडौं केन्द्रीत विरोधसभा हुनेछ। त्यसपछि सबै प्रदेशमा विरोधसभा हुन्छ,’ उनले भनिन्।
त्यस्तै आजको बैठकमा मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको विषयमा समेत सवाल उठेको थियो। मिडिया हाउसभित्रै गएर प्रहरीले मिडिया मालिकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हनन रहेको भन्दै त्यसको घोर भर्त्सना आजको बैठकले गरेको उनले बताइन्।
त्यसैगरी तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली जोडिएको गिरीबन्धु टी–स्टेटका विषयमा बैठकमा सवाल उठेको छ।
अदालतले नै निर्णय गलत भनिसकेको अवस्थामा ओलीले आफ्नो गल्ती स्वीकार गर्ने भन्दा पनि अरुमाथि नै लान्छाना लगाउने किसिमले अभिव्यक्ति दिनु घोर आपत्तिजनक रहेको उनको तर्क रहेको छ।
उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयमा कांग्रेसले निरन्तर संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्दै आइरहेको छ। त्यस्तै विपक्षीहरुको विरोधकाबीच संसद्को कामकारबाही अघि बढ्न थालेपछि कांग्रेसले संयुक्त बैठक आह्वान गरेर आगामी रणनीति तय गर्न बैठक बोलाएको हो।
अहिले बैठक जारी रहेको छ। बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन्।