
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आह्वान गरेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको छ।
केहीबेरअघि पार्टी मुख्यालय सानेपामा संयुक्त बैठक सुरु भएको हो।
आजको बैठकमा वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेकाे छ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसद्मा निरन्तर अवरोध गर्दै आइरहेको छ।
कांग्रेसकै अवरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्नेसम्मका काम संसद्बाट भएपछि त्यसबारेमा छलफलका लागि कांग्रेसले बैठक बोलाएको थियो।
सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए। कांग्रेसको निरन्तर अवरोधकाबीच पनि प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेसले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै आइरहेको छ।
आजको बैठकमा तीनै विषयमाथि केन्द्रीय रहेर छलफल हुने बताइएको छ।