
काठमाडौं— सञ्चार गृह सञ्चालकहरुको संगठन मिडिया सोसाइटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको रिहाइको माग गरेको छ।
बुधबार सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले पत्रकार सम्मेलनमा सिरोहियालाई रिहाइ नगरेसम्म निरन्तर संघर्ष गर्ने घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सो घटनाको जिम्मेवारी दिएर न्यायिक छानबिन गर्नुपर्ने माग गरेका छन्।
उनले भने, ‘प्रधानमन्त्रीज्युले यो सबै घटनाको जिम्मेवारी लिएर तपाइँले जतिसक्दो चाँडो कैलाश सिरोहियालाई रिहा गर्नुहोस् उहाँमाथिको न्यायिक छानबिन पूरा गर्नुहोस्।’
उनले देशमा राजनीतिक प्रणालीमाथि मुठभेडको वातावरण सिर्जना गर्ने उद्देश्यबाट निहित भएर सिरोहियालाई पक्राउ गरिएको समेत बताएका छन्।
कँडेलले भने, ‘सहकारी प्रकरणमा गृहमन्त्रीविरुद्ध निरन्तर मिडियाले प्रश्न उठाइरहेपछि त्यसको बदला लिन सबैभन्दा ठूलो मिडियामाथि अट्याक गरेर सबैलाई तर्साउन खोजिएको हो। कैलाश सिरोहियाको गिरफ्तारी केवल नागरिकतामा विवरण फरक परेका कारण गरेको गिरफ्तारी नभएर नेपालको मिडियामाथि गर्न खोजिएको आक्रमण र सेल्फसेन्सरसिपतर्फ धकेल्न खोजेको हो। यो घटना देशको राजनीतिक प्रणालीमाथि मुठभेडको वातावरण सिर्जना गर्ने उद्देश्यबाट निहित छ।’
कँडेलले नागरिकतामा विवरण तलमाथि हुँदैमा पक्राउ गर्न नमिल्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको नागरिकतामा पनि आशंका गरेका छन्।
उनले भने, ‘प्रचण्ड र ओलीले पनि नागरिकतामा विवरण बदल्नुभएको शंका हामीलाई छ। उहाँहरुले पुरानो नागरिकता छोडेर प्रतिलिपि बोक्नुभएको छ। पहिलेको नागरिकता सिरोहियाको जस्तै नेपाली कागजमा थियो होला। त्यसमा नाम, थर, वतन, जिल्ला, मिति तलमाथि रहेको मिडिया सोसाइटीलाई गम्भीर शंका छ।’
कँडेलले दाहाल, ओली सँगै कांग्रेस सभापति शेर बहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको समेत नागरिकताबारे खोजी गर्नुपर्ने बताए ।
उनले पक्राउ पूर्जि जारी गरेपछि पनि सिरोहियालाई बोलाएर बयान लिन सकिने भन्दै मिडिया हाउसमै आएर पक्राउ गर्नु आपत्तिजनक रहेको र उनको रिहाइ नभएसम्म गिरफ्तारीका विरुद्ध निरन्तर संघर्ष गर्ने बताएका छन्।
यस्तै, उपत्यका प्रशारक मञ्चका अध्यक्ष आरके श्रेष्ठले सञ्चारगृहमा हतियारसहित प्रहरी प्रवेश गर्नु खेदजनक भएको टिप्पणी गरेका छन्।
‘छानबिनका क्रममा नीति ऐनमा एकरुपता होस्। कैलाश सिरोहियामात्र होइन अन्य उच्चपदस्थ व्यक्तिमाथि पनि त्यस्तै छानबिन होस्। आमसञ्चार गृहमा हतियारधारीको प्रवेश सम्पूर्ण प्रेसलाई संकुचित बनाउने दुष्प्रयास हो,’ उनले भने।













