-1715754750.jpg)
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि रिसीइबी नसाधिएको र अदालती प्रक्रियाबाट पक्राउ गरिएको बताएका छन्।
बुधबार चन्द्रागिरीमा आयोजित ‘हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
त्यस्तै अदालती प्रक्रियाबाटै सिरोहियामाथि छानबिन अगाडि बढेको समेत बताए।
‘अदालतले प्रक्रिया अगाडि बढाउ भनेपछि अदालती प्रक्रिया अनुसार अघि बढ्या मैले बुझ्या छु। यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई,’ प्रधानमन्त्री प्रचण्डले भने।
त्यस्तै सरकारले रिसीइबी साधेको भन्ने कुरा गलत रहेको समेत बताए।
‘सरकारले रिसइबी साध्यो भन्ने छ नि’ पत्रकारको प्रश्नमा उनले भने, ‘त्यो गलत कुरा हो। उहाँसँग केको रिसीइबी?’
त्यस्तै सिरोहीया पक्राउ पर्नुमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथिका लागेका आरोपबारे कान्तिपुरले प्रकाशन गरिरहेको समाचारबारे प्रतिशोध साधिएको भनेर समेत विश्लेषण भइरहेको छ।
तर प्रधानमन्त्री प्रचण्डले भने गृहमन्त्रीले व्यक्तिगत रुपमा नै प्रतिशोध साधेको भन्ने विषय गलत रहेको समेत बताए।
सञ्चारकर्मीहरुले ‘गृहमन्त्री व्यक्तिगत रूपमै प्रतिशोधमा उत्रिनुभयो भन्ने छ नि’ भन्ने प्रश्न गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले भने ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो। अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ। सजिलै छुट्नुहुन्छ। यो हल नै भइहाल्छ।’
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासन कार्यालय धनुषाले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।
बुधबार सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा राखेको छ।













