News Griha :: न्यूजगृह
जसपा नेपालले तोक्यो केन्द्रीय समितिको निर्वाचन मिति 

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको निर्वाचन मिति तय गरेको छ। जसपा नेपालले आगामी जेठ ३० गते निर्वाचन गर्न लागेको हो। 

बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै जसपा नेपालले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार पारेको जानकारी दिएको हो। 

केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ। जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने र जाँचबुझ गरी त्यसैदिन ४ बजेसम्म निर्णय गरिसक्ने जसपाले जनाएको छ। 

त्यसपछि २९ गते नै उम्मेदवारको नामावली साँझ ५ बजेसम्म प्रकाशित गर्ने, ५ देखि ८ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकिएको कार्यतालिकामा उल्लेख छ। 

जेठ २९ गते राति ८ बजेदेखि १० बजेभित्रमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन गर्ने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएपछि सबै पदको मतगणणा सुरु हुनेछ। 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १०:११
Weather Update