News Griha :: न्यूजगृह
सिरोहियालाई ‘कृपापूर्वक’ रिहा नगर, रविलाई ‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको फाइल खोलः विश्वप्रकाश

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैमाथि लागेका सबैखाले आरोप उपर निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गर्दै शर्माले त्यस्तो छानविन गृहमन्त्री रवि लामिछानेमाथि पनि हुनुपर्ने जिकिर गरेका छन्।

‘सिरोहियालाई ‘कृपापूर्वक’ रिहा नगर। मज्जाले छानबिन गर,’ नेता शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दोषी ठहरे जेल पठाउ। सबैमाथिको सबै आरोप उपर निष्पक्ष छानबिनको सबै ढोका खुला गर!’ 

उनले सहकारीको रकम अपचलन प्रकरणका आरोपी गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन हुनुपर्ने माग गरेका छन्। उनले गृहमन्त्री रविविरुद्ध कान्तिपुरले दिँदै आएको शृङ्खलाबद्ध समाचारको पुष्टि हुनुपर्नेमा जोड दिएका छन्। 

‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फायल खोल,’ शर्माले भनेका छन्, ‘सहकारी ठगी समाचार शृङ्खला’ उपर पूर्वाग्रह होइन भन्ने पुष्टि गर!’ 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०७:०१
Weather Update