News Griha :: न्यूजगृह
कति छ रास्वपाका मन्त्रीहरूको सम्पत्ति?

काठमाडौं— नेपाली राजनीतिमा उदाएको केही वर्षमै प्रभावकारी स्थान बनाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूको प्रशस्त सम्पत्ति रहेको उनीहरूको विवरणमा छ। सरकारले मंगलबार प्रधानमन्त्रीसहित २३ मध्ये २१ मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा मन्त्रिपरिषद् सदस्य रास्वपाका चार जनाको पनि विवरण प्रकाशित गरेको हो। 

सरकारमा रास्वपाबाट पार्टी सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री छन् भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ छन्। 

लामिछानेको धेरै सम्पत्ति श्रीमतीको नाममा
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ नगद बचत छ। उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्तिको रुपमा देखाइएको छ। लामिछानेको सो बाहेक सम्पत्ति अन्य केही देखाइएको छैन।

तर, उनकी पत्नी निकिता पौडेलको नाममा भने बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ। यस्तै,  विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको विवरण देखाइएको छ। उक्त घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँ ऋणमध्ये अब १ करोड ५० लाख तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ।

लामिछानेले पत्नी निकिता पौडेलसँग ८० तोला सुन र २० केजी चाँदी रहेको खुलाएका छन्। त्यसको स्रोत अधिकांश निकिताका बाबुआमाले दिएको र केही खरिद गरेको उल्लेख गरेका छन्। यस्तै निकितासँग सुनबाहेक  १५/२० केजी चाँदी रहेको र त्यो २५० देखि ३०० रुपैयाँ प्रति तोला भएको बेला खरिद गरेको उल्लेख सम्पत्ति विवरणमा उल्लेख छ।

निकिताको नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको र सवारीसाधनमा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ। सो कार ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा खरिद गरिएको विवरणमा उल्लेख छ। विवरण अनुसार नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक निकिता छिन् भने दुवैको भौतिक मूल्य ४ करोड भएको उल्लेख छ। नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

तीन मन्त्रीको सुन 
अर्यालः
१ सय ५० तोला सुन छ। यस्तै हिरा १० तोला र चाँदी १०० तोला छ। अर्यालले ती सबै गहनाहरू २०७४ साल अघि व्यापार गरेर खरिद गरेको भनी स्रोत देखाएका छन्। 

सुमनाः ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप छ। श्रेष्ठले १० तोला सुन र १० नै तोला चाँदी बिहेको समयमा उपहार पाएको उल्लेख गरेकी छन्। यस्तै हिराको गहना भने हजुरआमाको शेषपछि आफूले पाएको भनी स्रोत खुलाएकी छन्। 

विराजभक्तः १५ तोला सुन र ५० तोला चाँदीका सजावटका भाँडा छन्। उनले सो सुन र चाँदीको स्रोत विवाह र पैतृक सम्पत्ति भएको देखाएका छन्। 
तीनै मन्त्रीको घर जग्गा 
अर्यालः
मन्त्री अर्याल र उनको र पत्नी अम्बिका केसीका नाममा विभिन्न १२ स्थानमा करोडौं मूल्य बराबरको जग्गा रहेको छ। काठमाडौं, धादिङ, लमजुङ र भक्तपुरका विभिन्न स्थानमा रहेका ती जग्गा व्यापार र निजी कमाइबाट झण्डै साढे ५ करोड रुपैयाँमा खरिद गरेको भनी स्रोत देखाएका छन्।

यस्तै, श्रीमती र उनका नाममा विभिन्न बैंक तथा वित्तीय संस्था तथा सहकारी संस्थामा २ करोड १८ लाख रुपैयाँ नगद मौज्दात छ। मन्त्रीको नाममा मेगा बैंकको १० हजार, बिग इन्भेष्टमेन्टको ३५ हजार, पिपुल इन्भेष्टमेन्टको ९ हजार र जनसागर सहकारीको १० हजार कित्ता शेयर छ। उनका दुई करोड २३ लाख रुपैयाँमा खरिद गरिएका स्वयम्भू स्टार ब्याङ्क्वेट, सुमिरे ट्राभल्स एन्ड टुर्स प्रालि, इजी लिंक रेमिट र एपीए ह्याण्डीक्राफ्ट  छन्।  

श्रीमती अम्बिकाको नाममा सुवर्णभूमि सहकारीको एक हजार र संयम सहकारीको २ हजार कित्ता शेयर छ। मन्त्रीको १ करोड ऋण छ भने उनीसँग १ करोड ५० लाख मूल्य पर्ने टोयटा प्राडो कार र श्रीमतिको नाममा टाटा नेक्सन ईभी छ। जसको मूल्य ४३ लाख उल्लेख छ। 

सुमना श्रेष्ठः  बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ छ। उनको नाममा एनआईसी एसिया बैंकमा १ करोड १५ लाख छ भने एभरेस्ट बैंकमा ३७ लाख पारिश्रमिकको रकम जम्मा भएको सम्पत्ति विवरणमा उल्लेख छ। यस्तै उनको श्रीमान् पावल स्क्याविन्स्कीको नाममा विदेशमा १ लाख ८९ हजार ७ सय डलर र १ लाख ८० हजार युरो रहेको छ। उनीसँग एउटा स्कुटर र एक अर्को विदेशीको नाममा २० लाख पर्ने विद्युतीय गाडी रहेको छ। उनको नाममा कुनै पैतृक सम्पत्ति र ऋण छैन। 

विराजभक्तः विभिन्न बैंकमा जम्मा गरेको ८३ लाख ७२ हजार ७४५ रुपैयाँ छ। उनले 'शेयर मार्केट’मा एक करोड बढी लगानी गरेका छन्। श्रेष्ठले बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग १५ हजार ९०६ कित्ता शेयर रहेको र सोको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रुपैयाँ रहेको उनले उल्लेख गरेका छन्। 

यस्तै उनले आफ्नै बुबा वीरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रुपैयाँ ऋण लिएको देखाएका छन् भने कुल ५० लाख ऋण रहेको विवरणमा उल्लेख छ। उनीसँग ८ लाख ५० हजारमा किनेको ल्यान्डक्रुजर गाडी, २ लाख ४६ हजार रुपैयाँमा किनेको विद्युतीय स्कुटर र १९ लाख ७५ हजार मूल्यमा किनेको एमजी ब्रान्डको एउटा इलेक्ट्रिक गाडी रहेको खुलाएका छन्। यस्तै उनको नाममा कुनै घर वा जग्गा नरहेको पनि सार्वजनिक विवरणमा उल्लेख छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १९:२७
Weather Update