News Griha :: न्यूजगृह
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता 

काठमाडौं— संसद्बाट ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ फिर्ता भएको छ। 

आज बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने उक्त विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरेका थिए। सो क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाइरहेको थियो। 

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दलको विरोधलाई बेवास्ता गर्दै संसद्को कारबाही अघि बढाएका थिए। 

कांग्रेसको अवरोधकाबीच उक्त विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गरेको सभामुखले घोषणा गरेका हुन्।

त्यस्तै आजको बैठकमा कांग्रेसले अवरोध कायम गरिरहँदा संसद्बाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत पारित भएको छ। 

गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। कांग्रेसको विरोधका कारण राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव समेत संसद्मा टेबुल हुन सकेको थिएन। आजको बैठकमा जबरजस्ती उक्त प्रस्ताव पारित गरिएको हो। 

संसद्को अन्य कामकारबाहीलाई कार्यसूचीबाट हटाइ संसद्को अर्को बैठक आगामी जेठ ११ गते शुक्रबारसम्मका लागि सारिएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:२९
Weather Update