-1716184453.jpg)
काठमाडौं— सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन प्रमुख सचेतकहरुसँग छलफलमा जुटेका छन्।
यसअघि आज नै संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए।
त्यसपछि नयाँ बानेश्वरस्थित आफ्नो कार्यकक्षमा सभामुख घिमिरेले मुख्य सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरिरहेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
‘विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि सभामुखले अहिले सबै दलका प्रमुख सचेतकसँग छलफल गरिरहनु भएको छ,’ उनले भने।
आज बिहान ११ बजेका लागि संसद् बैठक बोलाइएको थियो। तर बैठक अझै बस्न सकिरहेको छैन।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद्मा अवरोध गरिरहेको छ।
शनिबार संसदीय छानबिन समिति बनाउने सहमतिपछि त्यसको क्षेत्राधिकार तयार गर्न बनेको कार्यदलले ठोस निर्णय दिन सकेको छैन। आज बसेको बैठकले केही सहमतिको खाका तयार गरे पनि अन्तिम रुपमा दिन नसकेको हो।
सोमबार कांग्रेसको अवरोधकाबीच पनि प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेसले थप रणनीति बनाउँदैछ।