News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणः कार्यादेशबारे सहमतिको खाका कोर्दै कार्यदल 

काठमाडौं— सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको गठित कार्यदलको बैठकमा छलफल जारी रहेको छ। 

कानुन मन्त्रालयमा जारी छलफलमा सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिनको लागि कार्यादेश (टीओआर) का विषयमा आफूहरु सहमति नजिक रहेको कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले न्यूजगृहलाई जानकारी दिए। 

‘हामी सहमतिको नजिक रहेका छाैँ। उक्त विषयमा सहमति गर्ने सहमति जुटेको छ। अहिले छलफल जारी रहेको छ,’ उनले भने। 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद्मा अवरोध गर्दै आइरहेको छ। 

आजको बैठकमा उक्त कार्यादेशमा गृहमन्त्रीको नाम राखेर टीओआर बनाउनेमा रास्वपा सहमत भएको बताइएको छ। 

सोही विषयलाई लिएर संसद्का नियमित कामकारबाही समेत प्रभावित हुन थालेपछि गत शनिबार छानबिन समिति बनाउने सहमति बमोजिम त्यसको क्षेत्राधिकार निर्धारण गर्न कार्यदल गठन गरिएको थियो। कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल र कांग्रेस सांसद जीवन परियार सदस्य रहेका छन्। 

आजको बैठकमा कांग्रेसका तर्फबाट पूर्वमन्त्री समेत रहेका सांसद ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागि रहेका छन्। 

यसअघि आइतबार कार्यदलको बैठक बसे पनि सहमति जुट्न सकेको थिएन। आइतबारको बैठकमा कार्यादेशमा गृहमन्त्रीको नाम राख्ने की नराख्ने भन्ने विषयमा कार्यदलमा विवाद उत्पन्न भएपछि सहमति नभएको हो। 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:०८
Weather Update