-1716101323.jpg)
काठमाडौं— सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु बैठकमा नमिलेको विषयमा सहमति जुटाउन प्रयास हुनेछ। यसअघि गत आइतबार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन।
कार्यदलमा विशेषगरी गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ।
गत शनिबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन ४ सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन्। सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन्।
दुवै पक्ष आआफ्नै अडानमा रहेकोले कार्यादेशमा सहमति जुट्नेमा आशंका छ।