News Griha :: न्यूजगृह
सहकारीको रकम अपचलन: संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
फाइल तस्बिर।

काठमाडौं—  सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक मंगलबार बस्दै छ । बैठक मंगलबार बिहान ९ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने तय भएको छ। सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन।

गत शनिबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन ४ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन्। सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन्।

संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन। नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानमा छ। भने एमाले र रास्वपा त्यो कुरामा सहमत छैनन्।

कार्यदलमा आइतबार पटकपटक गरी सात घण्टाभन्दा बढी समय छलफल भए पनि सहमति जुटेन। यही विवादका कारण संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ भने संसद्को गतिरोध पनि अन्त्य हुन सकेको छैन।

नेपाली कांग्रेसले आफ्ना माग पूरा गराउन सत्ता पक्षलाई दबाब दिने उद्देश्यले सोमबार पनि वेल घेर्दै संसद् बैठकमा नाराबाजी गरेको थियो। नाराबाजीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०७:१२
Weather Update